मकालु बेस क्याम्पमा एक पुरुषको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ १३ गते १६:५१ मा प्रकाशित

काठमाण्डु, १३ जेठ-  सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ ।

मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए ।

विष्टले विदेशी टोलीको भरिया काम गर्दै आएका थिए । “उहाँ मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिडेका थिए”, वडाध्यक्ष शेर्पाले भने ।

विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको उनले बताए ।सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दूरीमा पर्दछ । घटनाका बारेमा आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us