प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा,यस्तो छ भ्रमणको कार्यतालिका

काठमाण्डु टुडे २०८० जेठ १३ गते १२:४८ मा प्रकाशित

काठमाण्डु ,१३ जेठ-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी जेठ १७ गते भारत जान लागेका हुन्। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको आगामी १७ देखि २० जेठसम्म हुने भ्रमणको औपचारिक मिति घोषणा गरेका छन।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली स्वकीय सचिव गंगा दाहाल, नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रचण्डले प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतमा गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन् । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल(भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ।त्यसपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ।

।प्रधानमन्त्रीले भ्रमणको तेस्रो दिन १९ जेठमा भारतको मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।नेपालको प्रधानमन्त्रीका रुपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us