
काठमाण्डु,१२जेठ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेपछी सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु राख्न पाइने बताएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधिसभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् ।
उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रुपमा लैजानुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामी यो संसदमा छौँ, संसदलाई व्यवस्थित रुपमा अघि बढाउने कुरा गरिरहेका छौँ । हामीले यही संसदलाई अघि बढाउने, आफ्ना कुरा संसदमा राख्ने भन्यौँ, त्यहीअनुसार कुरा गरिसकेपछि अहिले जुन खालको विषयवस्तु गरिएको छ, प्रमुख प्रतिपक्ष दलमा यो सार्वभौम संसद हो, सार्वभौम संसदमा बोल्न, विषयवस्तु राख्न पाइन्छ ।
आफ्ना आफ्ना कुरा राख्न मिल्छन् । यसलाई व्यवस्थित रुपमा लगियोस् । यो देशमा अहिले जसरी भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार भइरहेका विषयवस्तुहरुलाई छानबिन गर्नुपर्छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरुले सरकारबिरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।