एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाण्डु टुडे २०८० जेठ १२ गते १३:२४ मा प्रकाशित

काठमाण्डु,१२जेठ- आजको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ।

 प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि बैठक स्थगित भएको हो। बैठक निर्धारित समयभन्दा झन्डै साढे १ घन्टा ढिला सुरू भएको थियो।

सभामुख देवराज घिमिरले बैठक सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए।

गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

नेकपा माओवादीका सांसद राजन दाहालले  पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।

आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us