
काठमाण्डु,१० जेठ-नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमामा मुद्दा दर्ता गरेको छ ।
बुधबार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।
उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।