
काठमाण्डु, ५ जेठ– कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको भेटीएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहसँग साँठगाँठ देखिएपछि पक्राउ परेका खाणलाई अनुसन्धान अधिकृतहरूले मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको बारेमा प्रश्न गरेका छन ।
जिल्ला सरकारी वकिल कार्यालयमा सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतहरूले खाणलाई प्रश्न गरे–‘तपाईँको मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो ?’
उतरमा खाणले भनेका छन्– ‘फोन गर्दा र उठाउँदा कता थिचियो होला, प्राविधिक कुरा हुनाले मलाई थाहा भएन ।’ खाणले आफू पक्राउ पर्ने संकेत पाएसँगै मोबाइल रिसेट गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले जानकारी दिएका छन ।
बयानमा खाणले भनेका छन्–‘फोन मेरो हो, प्राविधिक कुरा थाहा छैन ।’ २७ वैशाखमा खाण मैजुबहाल स्थित घरबाट पक्राउ परेका थिए । शरणार्थी प्रकरणमा खाणसहित १६ जना प्रहरीको हिरासतमा रहेका छन ।