
नुवाकोट,४ जेठ– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा बिहीबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्मा रहेका छन । ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन । यस्तै उक्त दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् ।
नेत्रमान विश्वकर्माका छोरा निरज घाइते भएका छन् । उनको छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेकाले अवस्था गम्भीर छ ।
उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नं को मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले बेलकोटगढी नगरपालिका–७ ठूलोखोलामा बिहीबार बिहान १० बजेको समयमा ठक्कर दिएको हो ।
ठक्कर दिने टिपर र त्यसका चालकलाई कारबाहीका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।