दरबार हत्याकाण्डसहित विगतका घटनाको फेरि छानबिन हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ ४ गते १५:०१ मा प्रकाशित

काठमाण्डु,४ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुने बताएका छन ।

आज बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले विगतका हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका छन ।

आम जनता पार्टीका सांसदले रौतहटको गौरमा २०६३ सालमा भएको हत्याकाण्डको छानबिन के भइरहेको छ र अपराधीहरु कानुनको दायरामा आउँछन् कि आउँदैनन् भनी प्रश्न गरेका थिए ।

जवाफमा प्रचण्डले गौर मात्र नभई दरबार हत्याकाण्ड, मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाको पनि अनुसन्धान गर्नुपर्ने बताएका छन ।

उनले विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनु पर्ने बताएका छन ।उनले चाहे त्यो गौरको केस होस् चाहे त्यो भयानक दरबार हत्या काण्ड नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ’ प्रचण्डले यस्ता घटना बिर्साउन खोजिएको भन्दै अगाडि भने, ‘मदन आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ ।’

यस्ता घटनाको पुनः छानबिनका लागि राजनीतिक स्तरमा सहमति हुनुपर्ने उनको भनाइ छ ।तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र गोली चलेको थियो ।

उक्त हत्याकाण्डको छानबिनका लागि गठित समितिले तत्कालिन युवराज दिपेन्द्रले गोली चलाएको ठहर गरेको थियो । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद साहले बुँदागत रुपमा प्रश्न सोधेका थिए ।

यी प्रश्नको प्रधानमन्त्री प्रचण्डले एकमुष्ट जवाफ दिए । ‘नेपाली नागरिकता त्यागी विदेशमा बसोबास गरिरहेको नागरिकको गृह मन्त्रालयबाट तथ्यांक संकलनको कार्य भइरहेको छ ।

नेपाली नागरिकले नेपालमा रहेको सम्पत्ति बेचबिखन गरेर विदेशमा लैजान नपाउने कानुनी व्यवस्था रहेको छ’ उनले जवाफमा भने, ‘विद्यार्थी र पर्यटक भिसामा विदेश जानेहरुले लगेको विदेशी मुद्राको तथ्यांक नेपाल राष्ट्र बैंकले समय समयमा प्रकाशन गर्ने गरेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us