
काठमाण्डु,४ जेठ– नेकपा (माओवादी केन्द्र)काम अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने बताएका छन ।
आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल जारी रहेको बताएका छन ।
उनले यद्यपि जे गरे पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने बताएका छन । गत वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ मा राखेकी थिइन् ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसमेत नागरिकता विधेयकको विषयमा के गर्ने भन्ने विषयमा अध्ययनमा रहेको बताएका छन ।
उनले सरकारले उक्त विधेयकका विषयमा पूर्व महान्यायाधिवक्ता, वर्तमान महान्यायाधिवक्ता र संविधान तथा कानुनका विज्ञसँग छलफल गर्दा सबैजसोको मत राष्ट्रपति कार्यालयमा होल्ड भएकै विधेयक प्रमाणीकरण गर्न सुझाव आएको बताएका छन । उक्त छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको र उनी अध्ययनकै क्रममा रहेको उनले बताएका छन ।
उनले भने, ‘मैले राष्ट्रपतिलाई जानकारी गराएँ । राष्ट्रपतिले पनि यो बारेम कानुनविद र संविधानविद्सँग छलफल गर्छु भन्नुभयो, सायद उहाँ अध्ययनका क्रममा हुुनुहुन्छ’ ।
उनले त्यही विधेयक प्रमाणीकरण गर्न संसदले संकल्प प्रस्तावमार्फत अनुरोध गर्ने वा मन्त्रिपरिषदबाट निर्णय गरेर प्रमाणीकरण गर्न अनुरोध गर्ने सम्भावना रहेको बताएका छन ।
उनले भने , ‘नयाँ सदनबाट या त संकल्प प्रस्ताव मार्फत या अरु कुनै प्रस्तावमार्फत विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो, अर्को, क्याबिनेटबाट डिसिजन गरेर अनुरोध गर्ने बाटो’ ।