
काठमाण्डु,४ जेठ–आज बिहिबार बसेको संसद बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरुबीच प्रश्नोत्तर जारी छ ।
यसै क्रममा रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । यस्तो छ उनको प्रश्न: २०७३ सालमा तपाईँको नेतृत्वको सरकारले मधेस आन्दोलन र थरुहट आन्दोलनको छानबिन गर्न लाल आयोग गठन गर्यो ।
त्यसपछि यहाँहरू पटक पटक सरकारमा जानुभयो, सरकारका न्यूनतम कार्यक्रमहरूमा त्यसलाई सार्वजनिक गर्ने भन्ने पनि लेखियो । ७ वर्षपछि तपाईँको नेतृत्वमा सरकार बनेको छ । थरुहट आन्दोलनको जगमा उभिएको पार्टी पनि सरकारमा छ ।
त्यो रिपोर्ट सरकारले सार्वजनिक गर्छ कि गर्दैन ? कहिले गर्छ ? त्यस्तै करोडौं खर्च गरेर बनाएको उच्च स्तरीय शिक्षा आयोगले बनाएको रिर्पोट सार्वजनिक भएको छैन, त्यो हुन्छ कि हुँदैन ।
त्यस्तै पछिल्लो उपनिर्वाचनमा यहाँ लगायत पूर्व प्रधानमन्त्रीहरू हेलिकप्टरमा चढेर हाम्रा उम्मेदवारहरू हराउन जिल्ला जिल्लामा जानुभयो । गठबन्धनका उम्मेदवारहरूलाई मन्त्री बनाउने आश्वासन पनि दिनुभयो ।
त्यो आश्वासन आचारसंहिता विपरीत थियो कि थिएन ? त्यो नैतिकताको प्रश्न म सोध्न चाहन्न । म के सोध्न चाहन्छु भने त्यो हेलिकोप्टरको पैसा जनताको रगत पसिनाले उठेको करको पैसाले तिरिन्छ कि हजुरको गोजीबाट तिरिन्छ ?