नक्कली शरणार्थी प्रकरणले हामीलाई असर पर्‍यो: भुटानी शरणार्थी

काठमाण्डु टुडे २०८० जेठ २ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, २ जेठ– नेपालमा रहेका भुटानी शरणार्थीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण आफूहरु धेरै मारमा परेको बताएका छन ।

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष तिलक राईले विज्ञप्ति जारी गर्दै आफूहरुको शरणार्थी परिचयपत्र ८ महिनादेखि नवीकरण नहुँदा परिचयविहीन बन्नुपरेको बताएका छन ।

नवीकरणमा ढिलासुस्ती गरेर गैरभुटानीलाई भुटानी शरणार्थी बनाइने हो कि भन्ने आशंकासमेत भएको भन्दै कार्यबाहक अध्यक्ष राईले अविलम्ब परिचयपत्र वितरण गर्न माग समेत गरेका छन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र, निष्पक्ष छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्न पनि राईले माग गरेका छन ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दा अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, संविधानसभाका सदस्य आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थ व्यक्ति नै पक्राउ परीसकेका छन ।

भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका कार्यबाहक अध्यक्ष राईले स्वदेश फिर्ती र परिवार मिलनको प्रतीक्षामा रहेका ६ हजार ५०० र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यानमा राख्नसमेत सरकारसँग माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us