
काठमाण्डु, ३० वैशाख– एमालेले संघीयताका विषयमा पुनर्विचार नगर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक समापन गर्दै पूर्व प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन ।
उनले भने, ‘हिजो देखि एउटा हल्ला चलाइएको छ–नेकपा एमालेका चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो ।
नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो । अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरु चलेका छन् । यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नुभएको छ’ ।
शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा बोलेका गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताहरुले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका थिए ।
तर प्रचार विभाग उपप्रमुख रिजालले केन्द्रीय कमिटी बैठकमा संघीयताको विषय छलफलको एजेण्डा नभएको बताएका छन ।
उनले एमाले संविधान निर्माता पार्टी हो भन्दै रिजालले संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरुलाई चलाउने काम एमालेबाट नहुने बताएका छन ।