
काठमाण्डु, ३० वैशाख– अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नभएको बताएका छन ।
आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाण्डुमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रम’ बोल्दै उनले यस्तो बताएका हुन ।
अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताएका छन । उनले भने, ‘अहिले सबैभन्दा ठूलो चुनौतीका रूपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्’ ।
उनले अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रूपमा आफूले अधिकतम प्रयास गरिरहेको बताएका छन । उनले भने,‘अर्थ मन्त्रालयमा आएपछि मैले धेरै समस्याहरू देखे । जति बाहिर बसेर हेर्दा देखिन्थ्यो त्यो भन्दा धेरै समस्या रहेछन् ।
तर म सबै समस्या निवारण गर्न सक्छु भन्ने होइन । सुधारका लागि इमानदार प्रयास हुनेछ’। उनले अर्थतन्त्र सुधारका लागि जादु गरे जस्तो आजको भोलि नतिजा नआउने भन्दै यसका लागि धैर्यता चाहिने बताएका छन ।
उनले भने,‘धैर्यता नागरिकले गर्ने तर सरकारले प्रयास नगर्ने भन्ने हुँदैन’अर्थतन्त्र सुधारका लागि राज्य संरचनाको सम्पूर्ण प्रयास रहने छ ।’ उनले यसका लागि निजी क्षेत्रको पनि सहयोग चाहिने बताएका छन ।
उनले अहिले सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व निकै बढेको बताका छन । उनले भूकम्पपछिको पुनर्निर्माणका लागि लिएको ऋणको साँवा अर्को वर्षबाट तिर्नुपर्ने दायित्व आएको बताएका छन ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विभिन्न क्षेत्रबाट आएका सुझाव आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रयास गरिने बताए । त्यस्तै बजेटमा समेटिन नसकेका विषयहरू १६औँ आवधिक योजनामा समेटिने बताएका छन ।