
काठमाण्डु, ३० वैशाख– कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका छन ।
उनले मानव तस्करजस्तो घृणित कार्यमा राज्य नै सञ्जाल खडा गरेर संलग्न हुनुले विश्व समुदायमा देशको शिर निहुरिएको बताएका छन । उनले राज्यका जुनसुकै तहका व्यक्ति भए पनि छोड्न नहुने बताएका छन ।
भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ राज्यको जुनसुकै तह र तप्काको जोकोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ।’
उनले यो घटनाले देशको शासक र प्रशासकप्रति नागरिकको चरम अविश्वास बढेको बताउँदै उनले यसले लोकतन्त्र र संविधानलाई नै असुरक्षित भएको बताएका छन ।