प्रचण्डसँग रविले भने: तीन पार्टी मात्रै बसिरहँदा आशंका भयो

काठमाण्डु टुडे २०८० वैशाख २९ गते १८:३१ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय सरोकारका विषयमा तीन प्रमुख दलबीच मात्रै छलफल नराख्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन ।

आज (शुक्रबार) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर सभापति लामिछानेले राष्ट्रिय सरोकारका विषयमा कुरा गर्दा संसदका अरु दललाई पनि बोलाउन आग्रह गरेका छन ।

‘तीन दल बसिरहनुभएको छ । रास्वपा चौथो दल हो, जनमत पार्टी छ, राजेन्द्र लिङदेन पुरानै भएपनि नयाँ अभिमतसहित आउनुभएको छ, यसतर्फ ध्यान दिनुहोस्’ लामिछानेले प्रचण्डसँगको संवाद सुनाए ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन चलिरहँदा ठूला तीन दलका नेता मात्रै निरन्तर छलफल गर्नुले आशंका जन्मिएको लामिछानेले प्रचण्डलाई सम्झाएका थिए ।

‘यो प्रकरणमा बालकृष्ण खाँण जोडिनुभएको छ, टोपबहादुर रायमाझी पहिले माओवादी हो, तपाईहरु मात्रै नबस्नुहोस्’, प्रधानमन्त्री प्रचण्डलाई लामिछानेको आग्रह गरेका छन ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले अहिले तीन पार्टीका नेताहरुबीच भइरहेको कुराकानी अरु नै विषयमा भएको जानकारी दिएका थिए । ‘संसद चलिरहेको छ, विषय अरु नै हो’ प्रचण्डले भनेका थिए ।

तर लामिछानेले भनेजस्तै रााष्ट्रिय सरोकारका विषयमा सबैलाई समेटेरै जाने लामिछानेलाई आश्वासन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैसँग सम्झौता नगरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका लामिछानेले जानकारी दिएका छन ।

‘यो विषयमा नक्कली शरणार्थी आशंका नगर्नुहोस्, दोषीलाई उम्कनेगरी काम हुँदैन’ प्रधानमन्त्रीले भनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us