
काठमाण्डु, २९ वैशाख– काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहसँग साँठगाँठ देखिएपछि बुधबार पक्राउ परे ।
हाल उनी टेकुस्थित काठमाण्डु जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । अदालतबाट म्याद थप गराएर प्रहरीले खाँणमाथि छानबिन गरिरहेको छ । यदि प्रहरीले पक्राउ नगरेको भए खाँण अहिलेसम्म नेपाल छाडेर भागिसकेका हुने थिए ।
खाँणले भाग्ने सबै तयारी गरेको सूचना सरकारको उच्च नेतृत्व र गृह प्रशासनले पाएपछि हतारहतार प्रहरीलाई पक्राउ गर्न निर्देशन दिइएको थियो । सोही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।
खाँणले पनि रायमाझी जसरी नै फरार हुने तयारी गरेपछि पक्राउ गरिएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयका एक सदस्यले जानकारी दिए । ‘टोपबहादुर रायमाझी जसरी नै फरार हुन लागेको सूचना आयो, त्यसपछि तत्काल पक्राउ गर्नु भन्ने आदेश दिइएको हो’, उनले भने ।
उनका अनुसार खाँण भारत हुँदै सिंगापुर जान लागेको सूचना आएको थियो । पक्राउ पर्नुभन्दा केही दिनअघि खाँणले अनुसन्धानमा सघाउने भन्दै लिखित प्रतिबद्धता जनाएका थिए । त्यसो गरेपछि प्रहरीको निगरानीमा नपरिने र विदेश भाग्ने सकिने आंकलन खाँणले गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
नक्कली भुटानी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डले बयानका क्रममा नाम लिएपछि खाँण पनि तानिएका हुन् ।