डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको हिरासत

काठमाण्डु टुडे २०८० वैशाख २८ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ ।

अरु बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ ।

बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरीको व्यवस्था गरीको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डुका प्रमुख एसएसपी दानबहादुर कार्की स्वास्थ्य सम्बन्धी समस्याका कारण विशेष व्यवस्था गर्न म्याद थप हुँदा आदेश भएको बताएका छन ।

हिरासतमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरु भएकाले एकैठाउँमा सबैलाई राख्नु उपयुक्त पनि नहुने प्रहरी अधिकृतहरुले बताएका छन । खाँणलाई हालसम्म भेट्न परिवारका सदस्य र शुभेच्छुकहरु मात्र आएका छन् । हालसम्म नेताहरु उनलाई भेट्न नपुगेको प्रहरी अधिकृतहरु बताएका छन ।

पूर्वगृहमन्त्री खाँण र ठग गिरोह कनेक्सन पन्थी कार्यदलको प्रतिवेदन गृहबाटै गायब प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयका सचिव रहेका टेकनारायण पाण्डेलाई प्रहरी वृत्त, सिंहदरबारमा राखेको छ । त्यहाँ पनि उनलाई छुट्टै कोठामा राखेको छ ।

पाण्डे २० वैशाखमा पक्राउ गरेका थिए । पाण्डेको गिरोहका नाइके केशव दुलाल र ललितपुरका सानु भण्डारीसँग साँठगाँठ देखिएको छ । उनले राजनीतिक नेतृत्वलाई पनि मिलाउने भन्दै ५ करोड ६० लाख रुपैयाँ लिएको तथ्य फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले पाण्डेको बयान र नीतिगत विषयमा गिरोहलाई सहयोग गरेको फेला परेपछि तत्कालीन गृहमन्त्री खाँणलाई पक्राउ गरेको थियो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए । उनीहरुको बयान लिने क्रममा एमाले नेता रामबहादुर थापा बादल र कांग्रेस नेता खाँण गृहमन्त्री भएका बेला कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us