
काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकुहरुको व्यवस्थापनका क्रममा भ्रष्टाचार भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा खुट्टा कमाएको आरोप लगाएका छन ।
आज बिहीबार देखी पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
अध्यक्ष ओलीले लडाकु शिविरमा भ्रष्टाचार भए पनि अख्तियारले छानबिन नगरेको आरोप लगाए । शिविरमा रहेका लडाकुहरुका नाममा विनियोजन गरिएको रकम उनीहरुलाई वितरण नगरी भ्रष्टाचार गरिएको उनले बताएका छन ।
ओलीले लडाकु शिविरमा भएको अनियमितताको छानबिन गर्ने माग गरेका छन । उनले भने, ‘म अख्तियारलाई आग्रह गर्दछु। यो राज्यको सम्पत्ति हिनामिना हो। यसमा कारबाही गर्न लिरलिर गर्ने होइन, खुट्टा कमाउने होइन।
कारबाहीको दायरमा ल्याउनुपर्छ । ’ उनले सरकारले व्यापारीलाई सामुन्नेमा राखेर करको दर निर्धारण गर्ने काम गर्ने गरेर देशको अर्थतन्त्र असहज अवस्थामा पुगेको पनि बताएका छन ।
अध्यक्ष ओलीले रेमिट्यान्स वढेको, अर्थतन्त्र सुधारतिर लागेको जस्ता गलत कुराले कमजोर अर्थतन्त्रको बचाउ सरकारले गरिरहेको आरोप लगाएका छन ।