
एजेन्सी–पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशी पनि पक्राउ परेका हुन ।
पाकिस्तान तहरिक ए इन्साफका नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ ।
म यो सन्देश दिन चाहान्छु कि यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ ।’ पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता एवम् पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारमा संलग्न भएको मुद्दामा प्रहरीले अदालत परिसरबाट यही वैशाख २६ गते पक्राउ गरेको थियो ।
उनी पक्राउ परेको विरोधमा सुरु भएको आन्दोलनका कारण पाकिस्तान तनावग्रस्त बनेको छ । उनका समर्थकहरुले भौतिक संरचना र सवारी साधनहरुमा आगजनी तथा तोडफोड समेत गरेका छन ।
प्रदर्शनको क्रममा १० जनाको ज्यान गइसकेको छ । यसैबीच इमरान खान पछि सत्तामा आएका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले देशवासीको नाममा सम्बोधन गर्दै हिंसामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुर्ने चेतावनी दिएका छन् ।
पूर्वविदेशमन्त्री कुरेशीले भने आफू पक्राउ पर्नुअघि भिडियो सन्देश जारी गर्दै इमरान खानको रिहा नभएसम्म आन्दोलन नरोक्न समर्थकहरुलाई आह्वान गरेका छन ।
उनको पार्टी पीटीआईले ट्वीट गरेर कुरैशीलाई स्लामावाद प्रहरीले पक्राउ गरेर अज्ञात स्थलमा लिएको जानकारी दिएको छ । कुरैशी पीटीआईका उपाध्यक्ष समेत हुन ।