हाम्रै पार्टीको भए पनि भुटानी शरणार्थी प्रकरणमा दोषी भए कारबाही हुन्छ: केपी ओली

काठमाण्डु टुडे २०८० वैशाख २८ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताएका छन ।

उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि आरोप लागाएका छन । आज बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले सरकार नै यस्तो काममा लागेको पनि आरोप लगाएका छन । उनले भने, ‘राज्यलाई ठगेर, कानुन मिलाएर वा छलेर विभिन्न ढङ्गले व्यक्तिहरूको हातमा राज्यको ढुकुटी हस्तान्तरण गर्ने भ्रष्ट व्यवहार, मूल्यमान्यता इथिक्स र नैतिकता अन्तर्गतको होइन ।

कानुन बमोजिम होइन, पारदर्शी होइन । अपारदर्शी, गैर कानुनी ठगी गर्ने र राज्यलाई गम्भीर नोक्सान गर्ने कामहरू भइरहेका छन्’ । उनले रोक्नै नसक्ने अवस्था आएपछि पछिल्लो पटक भुटानी शरणार्थी प्रकरण सतहमा आएको पनि बताएका छन ।

उनले यस प्रकरणमा एमालेमै रहेकाहरूको नाम आएको भन्दै जोसुकैको नाम आए पनि दोषीलाई कारबाही हुने दाबी गरेका छन । उनले भने, ‘हाम्रै पार्टीका साथीहरूको पनि नाम आएको छ । हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ ।

यसमा म के भन्न चाहन्छु भने जोसुकैको नाम आओस् यदि दोषी छ भने कारबाही हुन्छ’ ‘तर जबसम्म मानिस दोषी करार हुँदैन । त्यो नहुँदासम्म हामी दोषी करार गर्न सक्दैनौ ।

हामी हेरिरहेका छौ कसैलाई फसाउने प्रयास पनि भइरहेको छ’, ओलीले पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएकोमा आशङ्का गर्न सकिने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us