दोषी छ भने नेता होस् कि नाता होस्, कोही छुट्नुहुन्न: महामन्त्री थापा

काठमाण्डु टुडे २०८० वैशाख २७ गते १४:०१ मा प्रकाशित

काठमाण्डु,२७ वैशाख– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताएका छन ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन ।

उनले भने, ‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् ।

कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्’। उनले अनुसन्धान स्वच्छ र स्वस्थ हुनुपर्ने भन्दै महामन्त्री थापाले सरकारले यो प्रकरणमा दह्रोसँग खुट्टा टेक्नुपर्ने बताएका छन ।

उनले भने, ‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस्’ यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।’

उनले यो प्रकरणमा सरकारको कामकारबाहीलाई सबैले हेरिरहेको भन्दै नागरिकलाई अनुसन्धानमा विश्वास हुने गरी काम गर्नुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us