
काठमाण्डू, ९ जेठ– प्रहरीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंशात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले अनुसन्धान फाइल आइएको जानकारी दिएका छन । उनले भने, ‘आजै दर्ता गर्ने तयारी थियो । तर समय अभावले नभ्याइएकाले अब आइतबारमात्रै दर्ता गर्छौं ।’ प्रहरीको अनुसन्धान फाइल अध्ययन गरेपछि कसलाई के मुद्दा लगाउने भन्ने यकिन गरेर मुद्दा दर्ता गर्नुपर्ने शर्माले जानकारी दिएका छन ।
साथै, प्रतिवादीको संख्या पनि धेरै भएकाले आज दर्ता गर्न नभ्याइएको उनले जानकारी दिएका छन । यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रहरीको उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि कसलाई कस्तो मुद्दा चलाउने, को–को प्रतिवादी हुने भन्ने यकिन टुंगो भने सरकारी वकिल कार्यालयले लगाउनुपर्ने छ ।
संगठित अपराधको कसुरमा पक्राउ परेको मितिले ६० दिनभित्र मुद्दा अदालतमा पुगिसक्नु पर्नेहुन्छ । १५ जेठ अघि नै जिल्ला अदालत काठमाण्डूमा मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ । जसकारण आइतबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ । मुद्दा चलाउनु पर्ने राय दिइएका मध्ये अहिले ५३ जना हिरासतमा छन् ।
बाँकी केही पक्राउ पर्न बाँकी छन् भने केहीलाई भने हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ । जसमध्ये राप्रपा महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भाटभटेनीका फलफूल टिप्ने केहीलाई भने हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।
अदालतमा मुद्दा पुगेपछि उनीहरूलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । १५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो ।