
काठमाण्डू, ९ जेठ– नक्कली भिजिट भिसा प्रकरणमा मुछिएकालाई कारबाही गर्न माग गर्दै युवराज सफलले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन ।
आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै सफलले नक्कली भिजिट भिसा प्रकरणमा मुछिएकालाई कारबाही गर्न माग गरेका छन । भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखक,गृह सचिव गोकर्णमणि दुवाडीलाई पदबाट निलम्बन गर्न उनले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
साथै उनले प्रचलित कानुन बमोजिम मुद्दा दर्ता गरी पक्राउ समेत गरेर हदैसम्मको कारबाही गर्न समेत भनेका छन् । नक्कली कागजात पेस गरी भिजिट भिसा तयार गरेर लाखौं रुपैयाँ एयरपोर्ट अध्यागमनका कर्मचारीहरूलाई बुझाई सेटिङमा मानव तस्करी भइरहेको र सो मानव तस्करीमा गृहमन्त्री, गृह सचिव एयरपोर्ट अध्यागमन प्रमुख गृहमन्त्रीका सचिवालय सदस्य लगायतको संलग्नता रहेको भनी विभिन्न सञ्चारचारमाध्यमबाट समाचार सम्प्रेषण भएको विषयको निष्पक्ष छानबिन गरी उनले दोषीमाथि कारबाही माग गरेका हुन् ।
भिजिट भिसा प्रकरणका विषयमा समाचारहरू बाहिरिँदा समेत गृहमन्त्री,गृह सचिव लगायतले कुनै प्रतिक्रिया नदिनु आरोप स्वीकार गर्नु भएको समेत उनले बताएका छन ।