जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैनः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ जेठ ९ गते १६:१९ मा प्रकाशित

काठमाण्डू, ९ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन ।

आज (शुक्रबार) एमाले निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने पनि बताएका छन ।

राजावादी पार्टी र संघसंस्थाहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलनलाई कटाक्ष गर्दै उनले राजतन्त्रलाई आफूहरूले समातेर मुन्ट्याएर फालिदिएको टिप्पणी समेत गरेका छन ।

प्रधानमन्त्री आलीले भने, ‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो । अर्को संविधान बनिसक्यो । संसद छ । राष्ट्रपति छ । न्यायालय छ । लोकतान्त्रिक व्यवस्था छ ।

र, हामी छौं, ‘जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर फेरि खोरबाट पनि निकालेर मुन्ट्याएर फालिदएका छौं ।

हामी छँदैछौं यस देशमा । फेरि राजतन्त्र ल्याउँदैछौं भन्ने सपना देख्नेहरू पनि छन् ।’ १५ जेठमा राजालाई सिंहासनमा राख्ने भन्दै राजावादीहरूले गरेको प्रचार प्रति पनि कटाक्ष गरे ।

‘यो आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे । घरैमा बनाएर राख्ने होला । देशको राज सिंहासन भनेको गयो, गइसक्यो,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us