
काठमाण्डु,२७ वैशाख– अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर ४ जनाको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाण्डुमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासे, ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेका छन ।
माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन ।
भूमिकास्थान नगरपालिका–२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्केको थियो ।
पदमलाई थप उपचारको लागि काठमाण्डु लैजाने क्रममा नारायणगढमा र पिताम्बरको मिसन अस्पतालबाट काठमाण्डु लैजांदै गर्दा पाल्पामै मंगलबार राति मृत्यु भएको थियो ।
काठमाण्डुस्थित कीर्तिपुर अस्पतालमा उपचाररत माधव र घनश्यामको भने बुधबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीमा परेकी २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको र उनी खतरामुक्त रहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन ।
घाइते सबैलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि मंगलबारै पाल्पा मिसन अस्पताल लगिएको थियो ।