सांसद अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी

काठमाण्डु टुडे २०८० वैशाख २५ गते १८:०१ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

४ मंसिरमा भएको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सांसद सिंहविरुद्ध कांग्रेस सर्लाहीका प्रवक्ता विकाशकुमार ठाकुरले सोमबार दर्ता गराएका हुन ।

सांसद सिंहमाथि आम निर्वाचनका क्रममा मतदाता खरिद गरेको र अस्वाभाविक रुपमा आर्थिक हैसियत कायम गरेको आरोप लागेको छ ।

ठाकुरले आयोगमा दिएको उजुरी निवेदनमा उल्लेख छ, ‘मधेश प्रदेश, सर्लाही–४ को निर्वाचनका क्रममा देखाएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग भएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो ।

यसका साथै सर्लाहीबाट आर्थिक चलखेलले पटक–पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरी आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य निरन्तर भईरहेको छ ।

राजनीतिलाई पेशा बनाएर सर्लाही जिल्लालाई यो तहको धोकाधडी लामो समय सहन नसक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तपशिल बमोजिमका आधारमा अनुसन्धान गरी आवश्यक कारवाही गरि पाऊँ।’

सर्लाहीको बलरा नगरपालिका– ४ स्थायी ठेगाना भई हाल ललितपुरको भैसेपाटीमा बस्ने ५२ वर्षिया अमरेश कुमार सिंह ४ मंसिमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सर्लाही– ४ बाट स्वतन्त्र तर्फबाट निर्वाचित सांसद हुन्।

उनी ०६३ सालको पहिलो अन्तरिम संसद्मा पनि सांसद थिए। ०६४ सालको संविधानसभा निर्वाचनमा पराजित हुनुभएका सिंह त्यसपछिका लगातार तीन निर्वाचनमा निर्वाचित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us