
काठमाण्डु, २५ वैशाख– नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गर्दै अडियो सार्वजनिक गर्ने अनलाइनमाथि प्रेस काउन्सिलले कारबाही गरेको छ ।
मञ्जु खाणबाट दर्ता भएको उजुरीको आधारमा नेसनल दैनिक डटकममाथि कारबाही काउन्सिलले गरेको हो । सो अनलाइनले ‘भुटानी शरणार्थी प्रकरण : आरजु देउवा र पूर्व गृहमन्त्री खाणले घुस लिएको अडियो सार्वजनिक’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
खाणले ‘म मञ्जु खाणलाई जोडेर नक्कली आवाजको भिडियो बनाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरूमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको’ भन्दै कारबाही गर्न माग गरेकि थिइन ।
अनलाइनको सम्प्रेषित सामग्री अनुगमन गर्दा एकपक्षीय पत्रकार आचारसंहिता प्रतिकूल भएको देखिएको र उक्त वेबपोर्टल नियमानुसार दर्ता एवम् सूचीकरण भएको नदेखिएको काउन्सिलले जानकारी दिएको छ ।