
काठमाण्डु, २४ वैशाख– संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद् अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न ४ बजे सुरु हुँदैछ ।
बैठकमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।