
काठमाण्डु, २१ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा प्रचण्डले पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । राष्ट्रपति पौडेल नयाँ दिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्री प्रचण्डले पहिलो पटक भेटवार्ता गरेका हुन ।
शीतल निवासमै आराम गरिरहेका राष्ट्रपति पौडेलले यसअघि राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेका थिए । आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका पौडेलले चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका छन्।
भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन नेताको शपथबारे पनि कुरा गरेका थिए । भेटको क्रममा आगामी २४ वैशाखमा बस्ने गरी बोलाइएको बजेट अधिवेशनबारे पनि कुराकानी भएको बताइएको छ ।