
काठमाण्डु, २१ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका छन ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको महामन्त्री थापाले यस्तो बताएका हुन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ।
यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । ’ उनले यो घटना मात्र नभएर प्रवृत्ति भएको भन्दै अझै गहिरोसँग अनुसन्धान गर्न उनले आग्रह गरेका छन ।
उनले भनेका छन, ‘यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन ’ ।
यो प्रकरणमा प्रहरीले एमाले सचिव टोपबहादुर रायामाझीका बाबुछोरा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका बाउछोरालाई पक्राउ गरेको छ।