
काठमाण्डु,१६ वैशाख– काठमाण्डु महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा रु छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व उठायको छ ।
उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत रहेको छ । गत आवको चैतसम्ममा रु पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिएका छन ।
उनका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा रु एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो । कामपाले चालू आवका लागि करिब रु १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो ।
गत आवमा भने रु नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो । चालू आवका लागि हालसम्मको अवधिमा कामपाले सबैभन्दा बढी सम्पत्ति करबाट रु ७९ करोड ४३ लाख ६४ हजार प्राप्त गरेको छ ।
विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेको भए पनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपा राजस्व विभागले जानकारी दिएको छ ।
सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ ।
विगतका वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने प्रमुख काफ्लेको भनाइ छ ।
यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ ।