
एजेन्सी– रुसी आक्रमणमा परी कम्तिमा पाँच जना बालबालिकासहित २६ जना युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन ।
मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए ।
भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए । यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर भएको थियो ।
केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला सुरु गरेको छ । करिब ८० हजार बासिन्दा रहेको लुगान्स्कमा पनि आक्रमण सुरु गरेको छ ।
पूर्वी लुगान्स्क सहर रुसको नियन्त्रणमा छ । रुसी क्षेप्यास्त्रहरू मध्य सहर डिनिप्रोमा पनि वर्सिएका छन् । एकतीस वर्षीया एक महिला र उनकी दुई वर्षकी छोरी सुतिरहेको अवस्थामा मारिएका अधिकारीहरूले जानकारी दिएका छन ।