संसदमा प्रधानमन्त्री नियुक्ति गर्ने बाहेक कुनै काम भएन: मिश्र

काठमाण्डु टुडे २०८० वैशाख १६ गते १३:०१ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शुक्रवार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम नभएको बताएका छन ।

आज (शनिवार) माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका उनले यस्तो बताएका हुन ।

उनले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने बताएका छन ।

उनले भने, ‘विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन उहाँ रातभर आएर सडकमा सुत्नुभयो । त्यसको धेरै ठूलो प्रतिकात्मक अर्थ छ ।

उहाँ युवाको प्रेरणाको पात्र हुनुहुन्छ, सरकारले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ’ बजेट आउनुअघि सरकारलाई दबाब दिन आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न दबाब दिनुभएको छ, यो एकदमै राम्रो छ । हामी राप्रपाका सबै साथीहरु उहाँलाई समर्थन गर्न तयार छौँ ।’

उनले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक भएको बताएका छन । मिश्रले आविष्कार क्षेत्रलाई प्रवद्र्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पारेका छन ।

वरिष्ठ उपाध्यक्ष मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताएका छन । उनले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवद्र्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही भएको बताएका छन ।

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका मागहरुको समर्थन गर्नका लागि राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीसहितका नेताहरु माइतीघर पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us