भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

काठमाण्डु टुडे २०८० वैशाख १६ गते ११:१८ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– भारतमा उपचाररत कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी यही आइतबार स्वदेश फर्कने भएका छन ।

३ फागुनमा राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको उनी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिएका छन ।उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनले जानकारी दिए ।

पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानुपर्नेछ ।

आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us