विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नुपर्छ: गृहमन्त्री

काठमाण्डु टुडे २०८० वैशाख ११ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नु पर्ने बताएका छन ।

आज (सोमबार) काठमाण्डुमा आयोजित ‘विपद् जोखिम व्यवस्थापनस् नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले नागरिक तहसम्म बिमा संस्कृतिको प्रवर्द्धन गर्न सके विपद् व्यवस्थापनमा गरिएको प्रयासहरू थप एकीकृत र मजबुत भई सम्भावित क्षति न्यून गर्न सहज हुने पनि बताएका छन ।

उनले विपद् जोखिम कोषलाई राहतमा मात्रै केन्द्रित नगरी जोखिम न्यूनीकरण, विपद्का समयमा खुला स्थानहरूको पहिचान र विकास जस्ता दीर्घकालीन महत्त्वका अतिआवश्यक कार्यमा परिचालन गर्न पनि स्थानीय तहलाई आग्रह गरेका छन ।

श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र अनुगमनका साथै पूर्व तयारी र जोखिम न्यूनीकरणका कामलाई एकीकृत गर्न आवश्यक रहेको पनि बताएका छन ।

उनले तीन वटै तहका सरकार र अन्य सरोकारवाला निकायहरुको समन्वयमा मात्रै विपद् व्यवस्थापनको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने पनि बताएका छन ।

उनले विपद् व्यवस्थापनका लागि जोखिमको तुलनामा हाम्रा प्रयास, लगानी, क्षमता एवम् साधन, स्रोतको कमी भएको औंल्याउँदै यसको क्रमशः वृद्धि गर्दै लैजानुपर्ने बताएका छन ।

उनले नेपालको संविधानले विपद् व्यवस्थापनको काममा तीन वटै तहको सरकारलाई जिम्मेवार बनाएको उल्लेख गर्दै सोही अनुसार अघि बढ्नुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us