काँग्रेसद्वारा चितवन–२ मा लफडा, प्रजिअले रवि लामिछानेलाई सघाएको आरोप

काठमाण्डु टुडे २०८० वैशाख ११ गते ७:५९ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– चितवन–२ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज सुरु हुँदैछ ।

बिहान सर्वदलीय बैठक बसेर मतगणना गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राति अबेरबाटै मतगणना सुरु गर्ने भनिए पनि मतपत्र संकलनमा ढिलाई भएकाले आजदेखि मतगणना हुन लागेको हो ।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले सर्वदलीय बैठकमा उम्मेदवार वा उम्मेदवारका दुई प्रतिनिधिलाई बोलाइएको बताए । सत्तारुढ गठबन्धनले भने प्रमुख जिल्ला अधिकारीको संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै तत्काल मतगणना सुरु गर्न नसकिने जनाएका छन् ।

कांग्रेस चितवन सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीले रास्वपाको संरक्षण गर्नुको कारणबारे जवाफ नदिएसम्म मतगणना सुरु हुन नसक्ने बताए । काँग्रेसले आइतबारै रास्वपा सभापति रवि लामिछानेले मतदान जारी रहेका बेला सामाजिक सञ्जालबाट भोट मागेको, मतदानस्थलमा समर्थकसहित उपस्थित भएर होहल्ला र नाराबाजी गरेर आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै उजुरी दिएको थियो ।

एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको चितवन–२ मा ७८ हजार दुई सय ७७ मत खसेको छ ।

सत्ता गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र रास्वपाबाट सभापति लामिछानेसहित २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us