काठमाण्डु ,१० वैशाख- चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूलाई मतदानस्थलमा जाने अवस्था नरहेको बताएका छन् ।
उनले फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन सवैलाई आग्रह गरेका छन । फेसबुक लाइभमा आउँदै उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरेका छन् ।
‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं’, उनले भने ।
उनले आफ्ना नेता कार्यकर्ता तथा प्रतिस्पर्धी दलहरुलाई पनि भयरहित निर्वाचन गराउन ध्यानाकर्षण गराएका छन् । उनले आफ्नो पार्टीबाट बुथमा खटिएका कार्यकर्तालाई पनि उत्तेजित नहुन विशेष आग्रह गरेका छन् ।
‘लामो इतिहास बोकेका दलहरुले हुलहुज्तमा विश्वास गर्दैनन्’, लामिछानेले भनेका छन् । उपनिर्वान मतदानका क्रममा आइतबार चितवनको नयाँ किरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो ।