
काठमाण्डु,७ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको समयमा आचार संहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्न माग गरेको छ ।
प्रचण्डले निर्वचन आचार संहिता उल्लंघन गरेकाले कारबाहीको दायरमा ल्याउन माग गर्दै रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन ।
गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको प्रचारप्रसार र समर्थनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी वैशाख ६ गते तनहुँको बन्दीपुर डुम्रे बजारमा भएको चुनावी सभामा सम्बोधन गर्न गएका थिए ।
सम्बोधनका क्रममा उनले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाएमा नेताहरुलाई मन्त्री, प्रदेशमन्त्री, मुख्यमन्त्री बनाउने आश्वसन दिई आम मतदातालाई अनुचित प्रभाव पारेको रास्वपाको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको उक्त कार्य निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन आचारसंहिता ०७९ को दफा ३ विपरीत भएकोले निर्वाचन कसूर तथा सजाय ऐन ०७३ तथा निर्वाचन कसूर तथा सजाय निर्देशिका ०७९ बमोजिम कारबाही हुनु पर्ने रास्वपाको माग रहेको छ ।