
काठमाण्डु, ४ वैशाख– प्रहरीले कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सुख्खा बन्दरगाहा अगाडि पार्किङ गरी राखेको बा.५ च ९६५७ नम्बरको गाडी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–२ घर भई हाल काठमाण्डुको कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने २८ वर्षीय अशोक लामा र काठमाण्डुको चोभार बस्ने मकवानपुर थाहा नगरपालिका–१२ घर भएका २३ वर्षीय किरण स्याङ्तान रहेका छन ।
उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । गत चैत ३० गते राति उक्त गाडी हराएको र कीर्तिपुर नगरपालिका–६ चारघरेस्थित सुवर्ण महर्जनको चक्रतीर्थ मल्टिपरपोज प्रालिको गोदाममा राखिएको सवारी साधनको पार्टपुर्जा चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा काठमाण्डुको चोभार डाँडास्थित खाली चौरमा शङ्कास्पद रूपमा पार्किङ गरी राखिएको अवस्थामा उक्त गाडीसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।
थप सोधपुछको क्रममा उक्त गाडी र सुवर्ण महर्जनको गोदामबाट चोरी भएका सामानहरू समेत उनीहरूले चोरी गरेको खुलेको प्रहरीले बताएको छ ।