
काठमाण्डु, ४ वैशाख– नेपाल टेलिकमले केन्द्रीय कार्यालयको प्रांगण बाहिर केही व्यक्तिहरुले धर्ना दिएकोबारे आम सर्वसाधारण र सञ्चारमाध्यममा समेत भ्रम उत्पन्न भएको भन्दै त्यसबारे स्पष्ट गरेको छ ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज सोमबार जारी गरेको विज्ञप्तिमा कम्पनीले सेवा विस्तार, मर्मत सम्भार लगायतका कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेर सेवा लिने गरेको बताइएको छ ।
विज्ञप्तिमा सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको उल्लेख छ ।
सोहीअनुसार केही दिन पहिले सम्पन्न व्यवस्था अनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भएर प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको अधिकारीले जानकारी दिएका छन ।
यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था रहेको उनले बताएका छन ।
टेलिकमले स्पष्ट गरेको छ, ‘हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ’ ।