
काठमाण्डु,२५ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको बताएका छन ।
आज (शनिबार) पार्टी निकट अखिल नेपाल महिला संघको काठमाण्डुमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
उनले एमाले मुलुकमा अरु पार्टी भन्दा बढि बलियो, व्यापक र अग्लो रहेको पनि बताएका छन । ओलीले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद पनि दिएका छन ।
उनले भने, ‘दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरुले ढाल बनेर छेकेका छन्, ‘अनमेसंघ र अरु संगठनहरु सक्रिय छन ।’
ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको बताएका छन ।
त्यस अवसरमा उनले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिएका छन । एमाले भित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न आग्रह गरेका छन ।
उनले भने, ‘आजको एमाले भित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो ग्रुप बनाएझैं । खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला ।’