
काठमाण्डु,२५ चैत– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारहरुप्रति असन्तुष्टि जनाएकी छन ।
आज नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुहरुका बारेमा पछिल्लो समय सञ्चारमाध्यमहरुमा ठूला–ठूला अक्षरमा समाचार छापिएको भन्दै असन्तोष व्यक्त गरेकि छन ।
उनले मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुहरुलाई लिएर समाचार प्रकाशन एवं प्रशारण हुँदा नीति निर्माण गर्नेहरुलाई कानून नै बनाउन नहुने हो कि भन्ने स्थिति आएको बताएकी छन ।
उनले प्रक्रिया सुरु नगर्दा नै सञ्चारमाध्यमहरुले कल्पना गरेर समाचार प्रकाशन गरेको आरोप लगाएकी छन । मन्त्री शर्माले कानुन बनाउँदा सरकारले राष्ट्रिय हीत सर्वोपरी राखेर नै निर्माण गर्ने र कानुन निर्माणको प्रक्रिया आफूलाई स्पष्ट रुपमा जानकारी रहेको पनि बताएकी छन ।
उनले अनलाइन मिडियाहरुलाई नियमन गर्नसक्ने कानुन सरकारसँग नरहेको भन्दै आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन बनाउँदा सबैकुरा समेटेर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन ।
मन्त्री शर्माले सञ्चारमाध्यमहरुले कल्पना गरेर बाहिर समाचार प्रकाशन एवं प्रशारण गरेको बताइन्। उनले पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको बताइन्।