प्रधानमन्त्री र मन्त्रीहरुलाई गगनको आग्रह :३ महिना अनुहार नै नदेखाइ काम गर्नुहोस्

काठमाण्डु टुडे २०७९ चैत २२ गते १५:०४ मा प्रकाशित

काठमाण्डु,२२ चैत- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरूले तीन महिना अनुहार पनि नदेखाइ काम गर्नुपर्ने बताएका छन्।

आज राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारले केही समय सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा पनि नदेखिई काम गर्नुपर्ने थापाले बताए।

‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ’, उनले भने, ‘तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर ‘गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्यो भन्ने महसुस गराउन सक्नुपर्ने बताए ।

यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको उनले बताय ।उनले दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको बताय। उनले भने ‘मलाई त आजभोलि प्रधानमन्त्री, मन्त्रीको समाचार आयो कि अन्यथा होइन, रिस उठ्यो त म भन्दिनँ।

मलाई एकदम नरमाइलो लाग्छ, फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ। प्रधानमन्त्री र मन्त्रीले अहिले फोटो पनि खिच्नुपर्दैन,’ महामन्त्री थापाले भने।तीन महिनाजति प्रधानमन्त्री, मन्त्रीको नाम कतै पनि देख्न नपाए पनि हुनेजस्तो लागेको छ।

‘नराम्रोका लागि भनेको होइन, यो बेला हामी फुर्सदमा छौं, हामी जाऔंला,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूले काम गर्ने हो।’ प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैं काम गर्ने हो भने एउटा माहौल सिर्जना गर्न सकिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us