अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित छैन: रमेश खरेल

काठमाण्डु टुडे २०७९ चैत १८ गते १६:३२ मा प्रकाशित

काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नहुने बताएका छन ।

आज (शनिवार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अहिलेको अवस्था परिवर्तन गर्न सबै एक ठाउँमा आउनुपरेको बताएका छन ।

उनले भने, ‘अहिले नेपाल आमा रोइरहेकी छिन् । यस्तो बेला एक ठाउँमा उभिएन भने केही गर्न सकिँदैन । देशमा अहिले सुशासनको खाँचो छ । देशको विषम परिस्थितिमा देशमा सुशासन कायम गर्न, देशका दाजुभाइलाई हौसला प्रदान गर्न र नेपाल आमालाई हँसाउन सबै एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ ।’

उनले अहिले राष्ट्रमा भएको सिन्डिकेटलाई तोड्न र यो देशको समृद्धिका लागि अब फरक कोर्षमा अघि बढ्न आवश्यक भएको बताएका छन ।

उनले अहिले भइरहेको सिन्डिकेट र भागबन्डालाई तोड्न सकिएन भने कसैको भविष्य सुरक्षित नभएको बताएका छन । उनले अहिले युवाहरू विदेश जान बाध्य भएर काठको बाकसमा आउनुपर्ने विवशता रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्न आवश्यक भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us