
काठमाण्डु,१७ चैत– एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ । आज (शुक्रबार) विश्वासको मत लिने मुख्यमन्त्री शर्माको प्रस्तावमाथि धारणा राख्दै एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले यस्तो बताएका हुन ।
उनले विपक्षमा भोट हाल्ने सम्बन्ध र तहमा नरहेकाले मुख्यमन्त्रीलाई विश्वासको दिने बताएका छन । सत्तापक्षको सिटमा बसेर विपक्षमा भोट हाल्न नमिल्ने भन्दै नेता कँडेलले भने, ‘सत्ता पक्षको कुर्सीमा बसेर विपक्षमा भोट हाल्न मिल्दैन ।
सरकारमा रहने या नरहने सरकारको नेतृत्व गरिरहेको पार्टीको भूमिकामा भर पर्छ ।’ उनले सरकार अप्ठेरामा परे विश्वासको मत दिने बताएका कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई लक्षित गर्दै कँडेलले भने, ‘भरिएर पोखिए पनि पोखिन्छ भनेर दिने भए दिए हुन्छ । तर हाम्रो समर्थन कायम नै छ । सरकार संकटमा छैन ।’
उनले प्रदेश सभामा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेकाले एमाले माओवादी केन्द्रसँग मेलेर २७ पुसको सहमति अनुसार पाँचै वर्षका लागि जान तयार रहेको पनि बताएका छन ।