भीम रावलले कर्तव्य पालना गर्नुभएको छैन: विष्णु पौडेल

काठमाण्डु टुडे २०७९ चैत १७ गते ११:०५ मा प्रकाशित

काठमाण्डु,१७ चैत– एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरीरहेको बताएका छन । उनले नेता रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको बताएका छन ।

आज शुक्रबार बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । पौडेलले भने, ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन । उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन ।

पार्टीको निर्णयको खिलाफ सार्वजनिक रुपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनु भएको छ ।’ उनले नेता रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको बताएका छन ।

उनले भने, ‘घरी उहाँ पत्रकार सम्मेलन गर्नु हुन्छ, घरी क्रियाप्रतिक्रियामा ओर्लिनुहुन्छ । कतिपय अधुरा सूचनाको आधारमा प्रतिक्रियामा उत्रिनुहुन्छ । यहाँले एकपछि अर्को गल्ती गर्दै गर्दै जानुभएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us