प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

काठमाण्डु टुडे २०७९ चैत १३ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, १३ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी एक कार्यक्रममा नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका हुन् ।

धरौटी नबुझाएका कारण उनीहरु जेल चलान गरीएको जिल्ला प्रहरी परिसर काठमाण्ठडुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिएका छन ।

७ चैतमा काठमाण्डुको बानेश्वरमा प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us