पर्सिसम्ममा मन्त्रिपरिषद विस्तार हुन्छ: देवेन्द्र पौडेल

काठमाण्डु टुडे २०७९ चैत ११ गते १८:१३ मा प्रकाशित

काठमाण्डु,११ चैत– (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन । आज शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन ।

उनले भने, ‘ प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरुले अलग अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ ।

अब भोलिसम्म प्रस्ताव तयार गर्नुहुन्छ र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ । ’ प्रदेश सरकार पनि आलोपालो प्रणाली अनुसार निर्माण हुने उनले बताएका छन ।

उनले भने, ‘प्रदेश सरकार पनि आलोपालो अनुरुप निर्माण हुनेछ र प्रदेश सरकारलाई संघीय सरकारको बजेट र नीति तथा कार्यक्रमसँग जोडेर गतिशील बनाउने छलफल भएको छ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us