गठबन्धन नगरी उपनिर्वाचन लड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाण्डु टुडे २०७९ चैत ११ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, ११ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा चितवन–२, तनहुँ–१ र बारा–२ हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ ।

हिजो (शुक्रबार) बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले चितवन–२, तनहुँ– १ र बारा–२ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिएका छन ।

यसैगरी उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us