एमाले नेतृत्वको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी

काठमाण्डु टुडे २०७९ चैत ९ गते ११:४९ मा प्रकाशित

काठमाण्डु,९ चैत– नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । त्यसका लागि आज संसदीय दलको बैठक बोलाइएको छ ।

सोही बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादी केन्द्रले बताएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आजको बैठकमा छलफल हुने जानकारी दिएका छन ।

उनले भने, ‘सत्ता समीकरण बदलिएसँगै सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा आजको बैठकमा हामी छलफल गर्दैछौं ’ । माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने आजको संसदीय दलको बैठकबाट सरकारको समर्थन फिर्ता लिने निर्णय हुने बताएका छन ।

उनले भने, ‘आज हामी निर्णय गर्छौं, प्रदेश प्रमुखकहाँ कहिले जाने लगायतका प्राविधिक कुरामा चाहिँ केन्द्रमा सल्लाह गरेर गर्छौं ’। गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी जम्मा ५८ सांसदको समर्थनमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी अहिले सरकारमा छन् । नयाँ गठबन्धनमा रहेका दलले समर्थन फिर्ता लिनासाथ गिरी अल्पमतमा पर्नेछन् ।

गिरीले विश्वासको मत लिन नसके एमाले नेतृत्वको सरकार ढल्ने छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ ।

एमाले र राप्रपा बाहेकका आठ दलीय गठबन्धनको सरकार बनेमा बहुमत पुग्छ । किनकि आठ दलीय गठबन्धनसँग प्रदेशसभाको बहुमत ५० मत हुन्छ ।

कांग्रेसका २७, माओवादी केन्द्रका १०, जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us